चेल्सीका मालिकबाट नेपाली फुटबल क्लबले के सिक्ने ?
बिहिबार १९ फागुन २०७८ ११:०९:५८ बजे

काठमाडौं । इङ्ग्लिस क्लब चेल्सीका मालिक एवं रुसी अर्बपति रोमन अब्रामोभिचले क्लब बिक्री गर्ने निधो गरेपछि धेरैले आश्चर्य प्रकट गरे । र, अचम्मित हुनु स्वभाविकै पनि ।
तर, उनले क्लब विक्रिबाट हुने मुनाफा युक्रेन–रुस युद्धका पीडितलाई सहयोगका लागि उपलब्ध गराउने भनेर घोषणा गरिदिए । क्लब बेच्ने कुरा निकै कठिन भएको बताउँदै उनले बाध्यता एवं क्लबकै हितका लागि बेच्न लागेको भनेका छन् । उनले बिक्री मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेका बताइन्छ ।
संयुक्त अधिकारज्यले गरेको व्यवहारका लागि ५५ वर्षीय अब्रामोभिचको यो निर्णय अर्थपूर्ण छ । ईन्भेष्टर भिसामा संयुक्त अधिराज्य अर्थात् युके बस्दै आएका उनलाई क्लब बेचेर घर फर्किनुपर्ने बाध्यता आइलाग्यो । हालै उनलाई बेलायत बस्न प्रतिबन्ध लागेको छ भने उनको भिसा अवधि समेत सकिएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेपछि युकेले रुसी नागरिकलाई भिसा दिन मानिरहेको छैन ।
यहाँनेर अब्रामोभिचको क्लब बेच्ने निर्णयले नेपालका लगानी कर्तातिर पनि केही संकेत गरेको छ । नेपालमा अहिलेसम्म दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाभकर विवाद जारी छ । अब्रामोभिचले क्लब विक्रिको मुनाफा युद्धपीडितका नाममा घोषणा गर्न सके भने नेपालमा राज्यलाई तिर्नु पर्ने लाभकर समेत दिइएको छैन । उल्टै अदालततिर अल्झाएर राखिएको छ । एउटा उदाहरण एनसेल भयो भने अर्को उदाहरण हो, नेपाली फुटबल । नेपाली फुटबलमा पनि अहिले सभ्रान्त वर्गले हात हालेका छन् । तर, त्यसको प्रतिफल न राज्यले लिनसकेको छ, न नेपाली खेलकूद । र, न व्यवसायिक खेलकूदकर्मीले नै लाभ लिन सकेका छन् ।
तपाईलाई हाम्रो सिफारिस : महिला आयोगकी अध्यक्ष पराजुलीलाई नैतिक संकट, ओलीको समेत नाक काटिने खतरा
हालसालै नेपालको ए डिभिजन क्लब मछिन्द्रले झण्डै अखिल नेपाल फुटबल संघ एन्फासँग कुस्ती खेलेको थिएन । पछि एन्फाको भावी नेतृत्वका लोभमा मचिन्द्रका व्यवस्थापकहरु पछि हटे । हिमालयन शेर्पा क्लबसँग नाम गाँसिएका कर्माछिरिङ शेर्पा अहिले एन्फाको अध्यक्ष छन् । उनले आफ्नो क्लबलाई मात्र ध्यान दिएको भन्दै अन्य क्लबहरुले असन्तुष्टि राखेकै छन् । तर, मछिन्द्र अलिक बढी उछालिन खोजेको आरोप लागेको छ ।
मछिन्द्र उछालिनुको पनि कारण छ । पछिल्लो समय मछिन्द्रमा भाटभटेनी सुपरमार्केट लगायत केही व्यवसायिक घरानाहरु जोडिएका छन् । र, एन्फामा घुस्न ति व्यापारीहरु क्लबलाई माध्यम बनाइरहेका छन् । यो कुरा व्यवस्थापकले बुझेका छैनन् वा बुझेर उनीहरुले नै व्यापारीलाई घुसाएका हुन्, कुरो बुझिसक्नु छैन । व्यवसायिक वा राम्रो मनसायले गरेका भए क्लबले उत्पातै गरेको देखिनु पर्ने नि ! व्यवसायिक छलाङ मारेको त देखिँदैन । र, राज्यसँग हात फैलाउन पनि छोडेका छैनन् । जस्तैः गत वर्ष मात्रै काठमाडौं महानगरले मात्रै ए डिभिजन क्लबलाई जनही १० लाख दिएको थियो । यस अघिपनि महानगरले निरन्तर आर्थिक सहायता दिँदै आएको छ । अन्य ठाउँबाट पनि सहयोग आइरहेकै हुन्छ । तर, खेलाडीले पारिश्रमिक नपाएको तथा गतिलो जर्सी र जुत्ता लगाउन नपाएको समाचार पनि सुन्नु परिरहेको छ ।
नेपालमा उद्योग र उद्योगीको मात्रै कमि हो व्यापारी र ब्रोकरहरुको कमि छैन । जहाँतहीँ भेटिन्छन्, व्यापारी र ब्रोकरहरु । र, निहित स्वार्थका लागि जे पनि गर्न तत्पर हुन्छन्,उनीहरु । नभन्दै थाहा भएन त ! नेपाली खेल जगतलाई कसरी भित्रभित्रै धमिराजस्तो खाइरहेका छन्, भनेर । त्यसैले हामी भन्छौं, चेल्सीका मालिक अब्रामोभिचबाट केही सिक्ने की ?
शिवरात्री विशेष
प्रकाशित मिति: बिहिबार १९ फागुन २०७८ ११:०९:५८ बजे