खुल्ला आकासमा सिलाउने जनक
बिहिबार २७ माघ २०७८ ०५:५९:२२ बजे

उमेश विक-
वीर अस्पतालको मुल गेटको संकटा जानेतरि गल्लि छ। एक तिर लस्करै चिया ब्यापारी र नाङ्गोलो ब्यापारी छन् । बिहान दश बजेको छ । कलिलो घाम लागेको छ । मानिसहरु चियरमा बसेर घाम तापिराखेका छन् । मौसम जाडोको छ । उसो त सबैजना घाम पर्ने नजिक सबै टुसुक्क बसेका हुन्छन् । जाडो छल्न घामतिर बसेर जनक सुन्दास लुगा सिलाउँछन् ।
रोडको साईड–साईडमा मेसिन राख्नेको लाम छ । अगाडि मोटरसाईकल पार्किङ्ग गरेका छन् लस्करै । विर अस्पतालमा आउँने बिरामीको होहल्ला भिडभाड त उस्तै हो जहिले । मोटरलाई राख्न नदिन त्यहाँका सेक्रेटीलाई सास्ती छदैछ । सेक्रेटरीहरु कराईराख्छन्।
अधुरा उनको सिलाउने मेसिन छ। मेसिन राखेका वरिपरि जे्रबा झोला र रातो झोला झुण्डाएको छन् । एकतिर कालो कपडाले टालेका छन् । उनी ग्राहकहरु आउँछन् कि भनेर वीरका वरिपरि आँखा डुलाईराख्छन् । एम्बुलेन्सको चर्को आवाज आईराख्छ् ।
जनक सुन्दासको घर सिन्धुपाल्चोकको डोडुवा भन्ने ठाउँमा रहेछ । चौतराबाट यतै पर्दो रहेछ । श्रीमति शुशिला सुन्दास पनि उनीसँगै छन् । उनी भने चेन मिलाएर राख्दैछन् । सिन्धुपाल्चोक जन्मघर भए पनि कर्मथलो काठमाडौं बनाएका छन । काठमाडौंलाई कर्मथलो बनाएको पनि २२ बर्ष भएछ । साल, समय र समाज परिवर्तन भए तर पनि, जनकको बस्ने ठाउँ र पेसा भने कहिले परिवर्तन भएन । अनवरत साथमा सिलाउने मेसिन छ । ग्राहकको प्रखाई छ । जसरी खुट्टाको चालसँगै उनको मेसिनका पांग्रा घुम्छन् । मेसिनका पांग्रा घुमेसरी ब्यस्त शहरमा घुमिराखेको छ उनको जिवन फनफनी ।
वीर अस्पताल र अपार्टमेन्टको बिचको गल्लीमा उनको जिवनको उर्जावान जोस–जाँगर हराएको छ । उनको सपना पनि त्यहि मेसिनका वरिपरि घुमिराख्छ् ।
टाढा त हुने खानेका लागी पो हो, हुँदा खानेको जहाँबाट सुरु हुन्छ अन्त्य त्यहि हुन्छ । अहिले जनक ३९ बर्षका भए भने, जनकका श्रीमति शुशिला ३६ बर्षकि भईन ।
जनकको सिलाउँने पेसा पुख्र्यौली हो । उनको हजुरबुवा, बुवा देखि उनीसम्म यो पेसालाई निरन्तर दिदै आए । पुस्तौ–पुस्तादेखि गर्दै आएको पेसा भएर होला । उनको यो पेसा रगतरगतमा छ । उनको दुई पुस्ताले काठमाडौंका यसरी गल्ली–गल्लीमा सिलाई गरेर जिवन बिताईसके । पहिले गाउँमा जनक बुवासँगै सिके । पछि बुवा काठमाडौं आएर यहि वीर अस्पतालको छेउमा सिलाउँन सुरु गरे । जनकले बुवाको बिडो थामिराखेका छन् ।
जनक पहिले गाउँमा गँलैचा बुन्ने काम गर्थै । बुबा राजधानी आए । उनी गाउँमा बस्थे । जनक र शुशिलाका बुबा साथी–साथी भएर सँगै लुगा सिलाउँथे । उनका बुबाको काठमाडौंमा भेट भयो । दुवै जनाका बुवा साथी भएपछि जनक र शुशिलाको बिवाह गर्ने निर्णय गरे। साथी अब सम्धी भए। शुशिलाको माईतिघर काभ्रेकोे कोशीपारीे माझीगाउँ भन्ने ठाउँ हो। यसरी उनको २०५४ सालमा बिवाह भयो। बिहे भए लगत्तै जनक काठमाण्डौँ बुवासँग आए। उनले पनि वीर अस्पतालको छेउमा खुल्ला ठाउँमा मेसिन राखे र काम सुरु गरे। आउने जाने गरिराख्छन् जनक।
गाउँमा जग्गा जमिन प्रशस्त छैन्। कि अरुकोमा गएर अधिया खानु पर्यो। तिन छोरी दुई छोरा छन्। ठुली छोरी ११ मा पढ्छन्। उसो त शुशिला उनलाई भेटन् घरको काम सकाएर आएकी हुन्। महिनामा एक चोटि सकेसम्म आईराख्छीन्। उनी आएर भेटघाट मात्र गर्दिनन् शुशिलाले पनि श्रीमानको छेउमा पलाष्टिक ओच्छाएकी छन्। जुत्ताको लेस, चेन, जुत्ताको भित्र राख्ने सोल, झोला राखेकी छिन्। यता आयो कि उनी श्रीमानसँगै बसेर ब्यापार गर्छिन।
जनकको एक्लो कमाई नै सात जनाको परिवार पाल्ने आधार हो। दिनमा सातदेखि आँठसयसम्म कमाई हुन्छ। डल्लुमा माटोको घरमा भाडामा बस्छन्। महिनाको तिन हजार भाडा तिर्छन्। कोठामा बेलुका मात्र खाना खान्छन्। बिहान यतै खान्छन्। कोठा टाढा छ खाना पकाएर खाएर आउँनु भ्याउँदैनन्। उनी बस्ने नजिकैको होटेलमा ८० रुपियाँमा खाना खुवाउँछ। त्यही ८० रुपियाँको खाना खान्छन्। शुशिलाले आजकाल दिनमा चार पाँच सय कमाउँछीन् । नयाँ लुगा सिलाउँदैनन् जनकले। पुरानो, च्यातिएका, फाटेका लुगा मात्र सिलाउँछन। एउटा मेसिन मात्र छ। न प्रेस छ, न ईन्टरलग गराउँने मेसिन नै ।
छोराछारीलाई पढाउनका लागी नै उनले यहि कामलाई निरन्तरता दिए। छोराछोरी साना छन्। त्यहि भएर उनको श्रीमती यता बस्दिनन् प्राय। घरमा सानोतिनो खेतबारी । छ महिनालाई खान पुग्छ्। बाँकि किनेरै खाने हो, शुशिला भन्छिन्। सरकारी स्कुलमा भए नै पनि सबै बालबच्चालाई पढाएका छन् सुन्दास दम्पतीले।
जनकका दुई दाजुभाई हुन। अलग–अलग छन्। बुवाआमा पनि अलग छन्। दाजु र बुवा अहिले गाउँमा नै सिलाउँछन्। गाउँमा सिलाए पनि कमाई छैन्। सिलाए वापत धान,मकै दिन खोज्छन्। लत्ताकपडा त्यसले आउँदैन् उनी बताउँछन।
उनले काठमाण्डौँको फुटपातमा सिलाएर कमाएको पैसाले गाउँमा घर बनाएका थिए। दाजु अलग भए पछि बनाएका हुन्। २०७२ सालको भुकम्पले उनको घर पनि ढल्यो। बैशाख १२ गते त चर्केको मात्र थियो। तर फेरि २९ गतेको भुईचालोले भने उनको नयाँ घर पनि जिवित रहेन्। घर जस्तै उनको मन पनि ढल्यो। यतिका दुख गरेर बनाएको घर एकै सेकेन्डमा तहसनहस भयो। उनको सपना ढल्यो। एकाएक जसरी सडकमा लुगा सिलाउँछन् त्यसरी नै उनको जिवन पुरापुर सडकछाप जस्तो भयो। उनी उठ्न सकेनन्। सरकारको अनुदानमा अहिले एक तलाको घर बनाएका छन्।
उनले यो रत्नपार्क एरिया रुमबाट आउँदा कस्तो थियो। कति बिकसित भयो। तर उनको जिवन र सपना फुटपातको मेसिनमा मात्र सिमित रह्यो। सात जनाको परिवार एक्लैको कमाईले धान्न धौँ–धौँ छ। तर, पनि जसोतसो छाक भने टाँरेका नै छन्। छोरी ठूली भईसकिन् रे छोरीले खाना पकाएर खान सक्ने र भाईबहिनीलाई विद्यालय पठाउन सक्ने भएकोले शुशीलाले अब यतै बसेर काम गर्ने सोच बनाएकी छिन्।
गरिबलाई जता गए दुखै हो। यहाँ महानगर आतंक छ। बसेर काम गर्न दिदैनन्। फुटपातमा बसेर ब्यापार गर्यो भने महानगरको गाडी आउँछ, शहर थर्काउने गरि। दुईवटा मेसिन महानगरपालिकाले लगिसकेका छन्। महानगरको गाडि आएको सुईको पाउने बित्तिकै लछारपछार गर्दै कुलेलाम ठोक्नुपछर्, उनी बताउँछन्। सटर भाडामा लिएर काम गर्न त पैसा हुनुपर्यो । सबैले लगानी गर्न सक्दैनन्। हामी जस्ता निमुखालाई यो राज्यले गरिखान नदिएको गुनासो छ, उनको।
कोरोनाले लकडाउन भयो उनी घर गए। दुई बर्षपछि मात्र आए। घरमा गएर बसे। अहिले लकडाउन खुकुलो भएपछि मात्र आएका हुन्। उसो त यहाँनेर काम गर्नु सजिलो छैन्। महानगरले दुई मेसिन लगिसकेको छ। फिर्ता दिएको छैन्। दिदैन पनि। महानगरको गाडिको आवाज आयो कि यमराज आए जस्तै लाग्छ् फुटपातमा सिलाउँनेको लागी। पानी परेको दिन काम गर्न मिल्दैन्। हावाहुरी हुँदा पनि बसेर सिलाउँन सकिदैन्। राति बोकेर लैजान्छन् रुममा। बिहानै डल्लुदेखि बोकेर ल्याउँछन्। यता राखे चोरले बेचिदिन्छ्। एउटा फुटपातको मेसिनमा सात जना परिवारको जिविका चलेको छ। दुख चाङ छन्। आफु नपढ्दा यति दुख पाईयो। अब छोराछोरीले नपाउन भन्ने छ। आफु यहि म¥यो भनेपनि मेरा छोराछोरीले राम्रोसँग पढुन् उनको अबको ईच्छा यहि हो।
गाउँमा चरम अभाव र गरिबी खेपेका उनी । जातिय छुवाछुतले पनि उनको आत्माचोट पुगेको छ। भन्छन्, हामीले नै सिलाएको लुगा लगाउँछन्। आँगन छेउमा हिड्दा पानीले पखालेको उनलाई अझै स्मरण नै छ। दलित समुदायमा जन्मेका जनकले गरिवी, अन्धविश्वास, बेरोजगारी सबै भोगिसकेका छन्। उनका दौतरीहरु बिदेशमा राम्रै कमाई समेत गरेका छन्। पैसा भएन्। फ्रिमा बिदेश पनि लग्दैन राज्यले। जान सकेनन्। हातमा भएको सिप यहि सिलाउने काम हो। बाकि गुजारा यसरी नै चलाउने अठोट लिएका छन् ।
प्रकाशित मिति: बिहिबार २७ माघ २०७८ ०५:५९:२२ बजे