आफ्नै मुलुकमा मनग्य कसरी कमाउने ? हेर्नुस् कुमार तामाङको इलम

okh viber
Nashvill
sapta koshi cement

 उमेश बिक 


नेपालमा धेरै मान्छेको जागिर हो, गफ चुट्ने । गफ चुटेर खान सजिलो पनि । तर, इलम गरे के हुदैन र नेपालमा ? सम्भावनाको खोजी आफैँले गर्नु पर्छ, सुनै फल्छ । पर्यटकीय सम्भाव्यता त कति छ, कति । पाखुरा चलाउनेले कृषिबाटै सुख फलाइरहेका छन् । कागजी तथ्याङ्कले पनि ८१ प्रतिशत नेपालीको आधार कृषि नै हो, भन्छ । 

उदाहरण जताततै छन्, हाम्रा सामु । तरकारीलाई नै सबथोक सम्झिएर जीवनको आखिरी दिनहरु फुर्तिसाथ कटाइरहेछन्, कुमार तामाङ । नेपालटारमा उनी तरकारी बेच्छन् । उमेरले बढ्यौली छोएजस्तो देखिए पनि मान्छे साह्रै फुर्तिला । ५० वर्षमा पनि उनी वयस्क जस्तो खट्छन् । तरकारी बेच्ने मात्रै होइन, खेती नै आफैँ गर्ने, कस्ता मेहनति ? हामीसँग गफ गर्दागर्दै उनले लगभग तरकारी बेचेर भ्याए । उपभोक्तासँग पनि कस्तो नम्र व्यवहार, वाह ! तरकारी किन्नेको मन जित्न सक्नु नै हो, उनको सफलता । उनको यो कलाले हामीलाई गफ गर्न थप हौस्यायो । 

तरकारी किनमेल गर्नेको व्यवहार पनि रोचक । त्यहाँ रमाइलो माहोलमा चलेको मोलमोलाई झनै रोचक । बुढ्यौलीले छोएका उनीसँग के साह्रो वार्गेनिङ गर्नु ? रायोको साग प्रतिमुठा २५ रुपियाँ । २५ रुपियाँको सागलाई २० रुपियाँमा दिनु पर्ने । उनले २५ रुपियाँ मूल्य राखेको साग सुपरमार्केटतिर पस्ने हो भने मुठाकै ३०/४० तिर्नुपर्छ । नेपालमा अर्गानिकका नाममा सस्तो प्रचार मात्रै हुन्छ । साँच्चिकै आफैँ बारीमा फलाएको तरकारीलाई पनि हाइब्रिडकै मूल्यमा बेच्नुपर्ने । अनि हाइब्रिड बेच्नेले चाँहि यो अर्गानिक हो भन्दा पत्याउने, बजार पनि कस्तो ?

कुमार तामाङहरुको मेहनत बुझ्ने हो भने, त हाम्रो मुलुकमा समस्या नै कहाँ छ र ? दिनप्रतिदिन विदेश जाने युवाहरुको लाम देखेर उनलाई नरामाइलो लाग्छ । उनी भन्छन्, मन अमिलो हुन्छ । कारणः आफैँ भुक्तभोगी । विदेश गएर पाएका दुःख अहिले पनि बिर्सेका छैनन्, उनी ।  र, उनले विदेशमा कमाएको  एक लाखबाटै तरकारी खेती सुरु गरेका हुन् । त्यो १ लाख नै उनका लागि व्यवसायको जग बन्यो । 

२५ वर्ष अघि वैदेशिक रोजगारमा गएका थिए उनी, । तारकेश्वर नगरपालिकाको बोहोराटार लोलाङमा तीन रोपनी जग्गा भाडा लिएर व्यवसायिक तरकारी खेती गरेका छन्, उनले । जग्गाको भाडा १० हजार । व्यवसायिक तरकारी खेती निकै फस्टाएको रहेछ । 

तारकेश्वर -४ लोलाङ बस्ने तामाङ २०६० सालदेखि कृषि खेतीमा सक्रिय छन् । उनले गोलभेँडा, भेडे खुर्सानी, काउली, बन्दा रामतोरिया र विभिन्न प्रकारका हरियो सागसब्जी रायो, तोरी, चम्सुर, पालुङ्गो, बेथे, कर्कलो जस्ता सागसब्जी समय अनुसार आधुनिक ढाँचाले उत्पादन गरिरहेका छन् । उनलाई श्रीमतीको पनि साथ छ । तरकारी बेच्ने सटरमा श्रीमतीले डिउटी गर्छिन् । गाडामा पनि तरकारी बेच्छन्, कुमारले । दुबैजना मिलेर खटिएका छन्, आयआर्जनमा । 

बेलुकी ३ बजेपछि गाडामा साग बेच्न बस्ने उनले रायो प्रतिमुठा २५, चम्सुर ३०, पालुङ्गो ३० रुपियाँमा दिन्छन् । प्रत्येकमा पाँच रुपियाँ मात्रै नाफा राख्छन् । अनि त किन्नेको भीड थाम्न सक्दैनन् । कुमारले व्यवसायिक तरकारी खेतीबाटै आफ्ना सम्पूर्ण आवश्यकता पुरा गरेका छन् । सन्तानले उच्च शिक्षा लिइरहेका छन्, तरकारी खेतीबाटै । कोरोनाले विश्वलाई तहसनहस पारेका बेला नेपाल पनि त्यसबाट अछुतो रहेन । धेरै नेपालीको रोजागर गुमेका बेला उनलाई भने खासै फरक परेन । काठमाडौंको मंङ्गो बसाइमा पनि त्यति समस्या भएन ।  

तर, आफ्नै माटोमा नंग्रा खियाएर उत्पादन गरेको उपजले बजार नपाउँदा भने मन खिन्न हुन्छ, उनको । अब स्थानीय सरकारले कुमार जस्ता मेहनती किसानलाई हेरुन् ।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: आइतबार २६ मंसीर २०७८ ०३:१७:१७ बजे