अफगानिस्तानको पञ्जशिर प्रान्त तालिवानको कब्जामा
साेमबार २१ भाद्र २०७८ ०२:३१:५१ बजे

अफगानिस्तान । तालिवानले अफगानिस्तानको पञ्जशिर प्रान्त कब्जामा लिएको घोषणा गरेकाे छ। तालिवान र सरकारी सुरक्षाकर्मीहरूका बीचमा लामो समय भिडन्त भएपछि अन्ततः तालिवानले पञ्जशिरमा जित हासिल गरेकाे बताइएको छ। देशका ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै तालिवानले नियन्त्रणमा लिइसकेको थियो।
तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पञ्जशिरमा आफूहरूको जित भएको र प्रान्त नै आफूहरूको नियन्त्रणमा आइसकेको दाबी गरे। ‘अफगानिस्तानका सबै भूभाग कब्जा गर्ने क्रममा सबैभन्दा अन्त्यमा पञ्जशिर प्रान्त पनि हामीले नियन्त्रणमा लिन सफल भएका छौँ,’ मुजाहिदले भने।
आफूहरूको सत्तालाई तालिवानले इस्लामिक इमिरेट्स अफ अफगानिस्तान भन्ने गरेका छन्। पञ्जशिर पनि अब यहीमार्फत सञ्चालित हुने बताइएको छ। तालिवान र तत्कालीन सत्तापक्षका बीचमा भएको भिडन्तका क्रममा धेरैको मृत्यु भएको छ भने अरू कैयौँ घाइते भएका विवरणहरू सार्वजनिक भएका छन्। तर, क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन।
काबुलको उत्तरमा पर्ने पञ्जशिर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो। पहाडहरूले छेकिएको यो प्रान्त परम्परागत रूपमा नै तालिवानविरोधी गढ मानिन्छ। डेढ लाखदेखि दुई लाख मानिसको बसोवास पञ्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई तालिवानविरोधी बलियो गढ बनाएको हो।
बहुमूल्य धातुका खानी, जलविद्युतका बाँधहरू र वायु ऊर्जा केन्द्र रहेको त्यस क्षेत्रमा अमेरिकाले सडक निर्माण र काबुलबाट संकेत प्राप्त गर्न सक्ने रेडियो टावरसमेत निर्माण गरेकाले विगतमा तालिवान विद्रोहीहरूले कब्जामा लिन नसकेको बताइन्छ। रासस
प्रकाशित मिति: साेमबार २१ भाद्र २०७८ ०२:३१:५१ बजे