‘ताइवानसँग शान्तिपूर्ण एकीकरण’ : चिनियाँ राष्ट्रपतिले अमेरिकालाई दिए चक्मा
शनिबार २३ असाेज २०७८ ०७:१२:४६ बजे

काठमाडौं । कोरोना महामारीको गर्भमा लामो समय हुँड्लिएको विश्व राजनीतिक वादल ताइवान आइपुगेर छिट्टाउन खोजेको छ । तर, त्यसलाई चीन सरकारले छिट्टाउन नदिने प्रयत्न थालेको छ ।
गएको हप्ता चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा झन्डै १५० सैन्य विमान उडायो । त्यसलाई लिएर अब फेरि एक पल्ट चीन–अमेरिका युद्ध हुन्छ, भने धेरैले । तर, झगड्याउने अमेरिकी चाल बुझेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँग शान्तिपूर्ण एकीकरण हुनुपर्ने उद्घोष गरिदिएका छन् । एकता प्राप्तिका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई भने बेइजिङले अस्वीकार गरेको छैन ।
सी’को भाषणले चीन–अमेरिका युद्धको भविष्यवाणी गरिरहेका पण्डितहरुले हाललाई ‘धुलौटो’ मेट्नु परेको छ भने अमेरिकी आकांक्षाले समेत चक्मा खाएको छ । उनले भनेका छन्, ‘पृथकतावाद अर्थात् ‘विभाजन’लाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा छ । तर, मातृभूमिको पूर्ण एकीकरण गर्ने कार्य पूरा हुनुपर्छ र निश्चित रूपमा त्यो पूरा हुने छ ।’ आफूले हङकङमा जस्तै शान्तिपूर्ण रूपमा ‘एक देश दुई प्रणाली’ अन्तर्गत एकीकरण देख्न चाहेको सी’को भनाई छ ।
पछिल्लो केही हप्तायता दुई देशबीच तनाव चुलिएको छ । तर, चीन–ताइवान सम्बन्ध सन् १९९६ मा जस्तो भने बिग्रिएको छैन । त्यो बेला चीनले क्षेप्यास्त्र परीक्षण गर्दै ताइवानको राष्ट्रपतीय निर्वाचन बिथोल्ने प्रयास गरेकै हो ।
त्यस बेला अमेरिकाले चीनलाई रोक्न लागि त्यो क्षेत्रमा विमानवाहक जहाजहरु पठाएको थियो । र, कैयन पश्चिमा राष्ट्रहरूले चीनको सैन्य क्षमता प्रदर्शनबारे चिन्ता व्यक्त गरिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले सी ‘ताइवान सम्झौता’मान्न सहमत भएको भनेका छन् ।
बाइडनले अमेरिकाको ‘एक चीन नीति’लाई संकेत गर्दै त्यसो भनेको अड्कल काटिएको छ । तर, अमेरिकाले राष्ट्रको रूपमा चीनलाई मात्रै स्वीकार गरे पनि ताइवानसँग गहन अनौपचारिक सम्बन्ध राख्ने गरेको छ । ताइवानलाई चीनको प्रान्त मान्ने एक चीन अवधारणा भने बाइडनले संकेत गरेको नीतिभन्दा फरक हो ।
ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्दै आएको छ भने चीनले उसलाई आफ्नो विद्रोही प्रान्तका रूपमा हेर्छ । राष्ट्रपति सीको भनाइमा प्रतिक्रिया दिँदै ताइवानको राष्ट्रपति कार्यालयले ताइवानको भविष्य आफ्ना नागरिकको हातमा रहेको भनेको छ ।
ताइवानी आकाशमा १५० भन्दा बढी चिनियाँ सैनिक विमान उडेपछि विश्व राजनीति तरंगित छ । र, चिनियाँ राष्ट्रपति बोल्न बाध्य भए । चीनबाट राजशाही अन्त्य भएको ११०औं वर्षगाँठको अवसरमा राष्ट्रपति सीले मातृभूमिको एकीकरण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने उद्घोष गरे ।
यसअघि उनले सन् २०१९ मा ताइवानसँग सम्बन्ध सुधार भएको ४०औं वर्षगाँठका अवसरमा पनि दुई देशबीच शान्तिपूर्ण एकीकरण गर्न र एक देश दुई प्रणाली नीतिमा चीन प्रतिबद्ध रहेको बताएका थिए । ताइवानले भने बेइजिङलाई ‘उक्साहटपूर्ण हस्तक्षेप, उत्पीडन र विनाशकारी कदमहरू’ त्याग्न आग्रह गरेको छ ।
अमेरिकी भविष्यवाणी
गएको जुन महिनामा अमेरिकी एक पूर्व रक्षामन्त्रीले ताइवानका कारण संयुक्त राज्य अमेरिका र चीनबीच निकट समयमै युद्ध हुने भविष्यवाणी गरेका थिए । जहाँ उनले अमेरिकालाई अस्ट्रेलियाले समेत साथ दिन्छ भने ।
पूर्व रक्षा मन्त्री क्रिस्टोफर पाइनले ताइवानलाई लिएर चीनसँग युद्धको सम्भावना रहेको भनेका हुन् । उनले भनेका थिए, ‘यदि चीनले ताइवानमा सेना खटाए, अमेरिका त्यसको विरोधमा उभिन्छ र अस्ट्रेलियाले अमेरिकाको साथ दिन्छ । आफ्नो भाषणमा उनले आजको पाँच वर्ष अघि सम्भावना निकै कम रहेको भनेर आफैँले बताएको भएपनि अहिले सम्भावना निकै बढेर गएको छ भनेका गिए ।
ताइवानबारे जान्नै पर्ने तथ्य
-ताइवानः उत्तरी हङकङ र पूर्वी चीनको बिचमा रहेको एउटा टापु हो, जहाँ करिब दुई करोड ४० लाख मानिस बसोबास गर्छन् ।
–१७औँ शताब्दीमा यो टापु आदिवासी हुँदै डच शासक, चीन र जापान हुँदै पुनः चीनको अधीनमा छ ।
–सन १९४९ को गृहयुद्धपछि चिनिया गणतान्त्रिक सेनाले ताइवानलाई आफ्नो अधीनमा लियो । र, त्यसताका कम्युनिस्ट सेनाले मेन ल्यान्ड भनिने मुख्य भूमिलाई आफ्नो नियन्त्रणमा राख्न सफल भयो ।
–सन् १९८० मा गणतन्त्र स्थापना हुनुअघि, सैनिक शासन अन्तर्गत गणतान्त्रिक सेनाले ताइवानलाई आफ्नो अधीनमा राख्दै आएको थियो ।
–ताइपेमा निर्वाचित भएको सरकारले आफूलाई पुरै चीनको वैध सरकार मान्दै आएपनि, यथार्थमा उनीहरूले ताइवान तथा त्यस वरपरका केही स–साना द्वीपहरूको व्यवस्थापन मात्र गर्ने गर्छन् ।
–अन्तर्राष्ट्रिय रूपमा पनि ताइवानलाई राष्ट्रको मान्यता प्राप्त छैन । थोरै मुलुकले मात्रै ताइवानलाई स्वतन्त्र देशका रूपमा मान्यता दिएका छन् । अमेरिका र ताइवानसँग आधिकारिक रूपमा सम्बन्ध स्थापित छैन । तर अमेरिकाले ताइवानले आफ्नो रक्षा गर्न पाउने विषयसँग सम्बन्धित कानून भने बनाएको छ । राष्ट्र संघले पनि ताइवानले चीनकै एक प्रान्तका रूपमा हेर्छ । चीनले पुनः ताइवान आफ्नो नियन्त्रणमा आओस् भन्ने गरेकोमा अब सी’ले शान्तिपूर्ण एकीकरणको कुटनीति प्रयोग गरेका छन् ।
–चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भए । चीनले ताइवान कुनै न कुनै रूपमा मेनल्यान्डका रूपमा आओस् भन्ने चाहन्छ ।
-चीनमा गृहयुद्धका क्रममा चियाङ काई शेकका सैनिक माओ त्से तुङका कम्युनिस्ट सैनिकबाट कुटिए । चियाङ र उनको कुमिन्ताङ सरकार बाँकी रहेका अधिकारीहरू सन् १९४९ मा भागेर ताइवान पुगेका थिए । स्थानीय जनसाधारणले सरकार तानाशाही भएकोमा व्यापक विरोध गरेपछि चियाङका छोरा चियाङ चिङ कुओले प्रजातान्त्रीकरणको अभ्यास गरे ।
–पछि राष्ट्रपति ली तेङ हुईले संवैधानिक परिवर्तन गर्दै मुलुकलाई प्रजातान्त्रिक राजनीतिक व्यवस्थातर्फ लगे । त्यही कारण उनी ताइवानको ‘प्रजातान्त्रिक पिता’कहलिए ।
–ताइवानको आफ्नै संविधान छ । ताइवानमा प्रजातान्त्रिक विधिबाटै नेताहरू चुनिन्छन् । ताइवानसँग झन्डै ३ लाख सक्रिय सैनिक जत्था छ ।
–बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ र दुबैले प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव बढाउन संघर्ष गरिरहेका छन् ।
ताइवानको चीन विरोधी गतिविधि
सई इंग होणे पहिलो पटक २० मे २०१६ मा राष्ट्रपती चुनिए पछी ताइवानको चीन विरोधी गतिविधि बढ्न थालेको हो । संन २०२० अगस्ट ताका ताइवानले अमेरिका सँग ६६ वटा एफ -१६ फाइटर जस्ता अत्याधुनिक हतियार किने को छ । र, आफ्नो सैनिय शक्तिमा प्रत्येक वर्ष ठुलो मात्रमा लगानी बढाएको छ । ट्रेडिङ्ग इकोनोमिक्सले निकालेको तथ्यलाई पनि हेर्न सक्छौ ।
त्यस्तै, ताइवानले चीनको नाइन ड्यास लाइन नीतिलाई पनि समय-समयमा चुनौती दिदै आएको छ । कहिले काहित हंगकंगको आन्दोलबारे पनि चीन विरोधी अभिव्यक्ति दिदै आएको छ ।
–एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शनिबार २३ असाेज २०७८ ०७:१२:४६ बजे