एसपीपी रोइलो : सेनाले नै झुठ बोलेपछि कहाँ रहयो र राष्ट्रियता ?

okh viber
Nashvill
sapta koshi cement

संसदमा उभिँदा पनि नेपाली सेनाले आफ्नो ढिपी छोडेन । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उही ढिपी गरे, ‘एसपीपी कार्यक्रम सेनालाई मान्य छैन ।’ सेनाको बचाउ गर्दै उनले भने, ‘एसपीपी कुनै पनि कोणबाट हाम्रो कामको छैन । हामीलाई मान्य पनि छैन ।’ बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया प्रतिक्रिया आउनु स्वभाविक हो भन्छन्, उनी । यहि कुरा उनले जङ्गीअड्डाबाट विज्ञप्ति निस्किनु भन्दा अघि वा त्यो विज्ञप्तिमा भनेको भए पनि हुने नि ! रोइलो गर्न संसदसम्म किन पुग्नु पथ्र्यो । अर्थात्, कसलाई घुर्क्याएको ? कति सस्तो है, गौरवमय सेनाको लेटरहेड प्रयोग गरेर आफ्नो अनुहार छोप्न । सनक उठेका भरमा, दुई लाइन लेख्यो–वक्तव्य ठोकिदियो । 

नेपाली राजनीतिक वृत्तमा हो–धोती फुस्किएर निकै गन्हाएपछि मात्रै असली कुरा खुल्ने । राजनीतिक दल वा ति दलका नेताभन्दा कम रहेन छ, नेपाली सेना पनि । झुठ् बोल्न त राजनीतिक दलका नेताको पनि बराजु रहेछ नि, नेपाली सेना । 


जुन दिन एसपीपी सम्झौताका लागि अमेरिकाले मस्यौदा प्रस्ताव गरेको भनेर दश बुँदे बाहिर आएको थियो । त्यही दिन एभरेष्ट हेडलाइन्सले सेपाली सेनाका सूचना अधिकारी नारायण सिलवाललाई जिज्ञासा राख्यो, ‘एसपीपीको विषय के हो ? कत्तिको परिपक्व हो ? र, यस विषयमा सेनाले वक्तव्य वा प्रेस मिट गर्छ ?’ उनले अकडिएर जवाफ दिए, ‘कसैले हल्ला गरेको विषयमा सेनाले प्रष्टिकरण दिँदै हिँड्ने हो र ? हुँदै नभएको कुरा कसैले हल्ला गर्छन् भने त्यस विषयमा सेनाले जवाफ दिँदै हिँड्दैन । एसपीपीबारे हालसम्म नेपाली सेनालाई औपचारिक, अनौपचारिक कुनै पनि प्रकारको प्रस्ताव आएको छैन । नेपाली सेनाले पनि यस विषयमा अहिलेसम्म कतै केही प्रस्ताव गरेको छैन ।’ उनले बोलेको सफेद झुठ थियो, यो । 


नभन्दै असार १ गते सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले वक्तव्य निकाल्यो, ध्यानाकर्षण भनेर । त्यसअघि सूचना अधिकारी सिलवालले त यस्ता हावादारी विषयमा सेना बोल्दैन भनेका थिए । भोलिपल्टै किन वक्तव्य निकाल्नु परेछ त ? नेपाली जनता र छिमेकलाई विश्वास छ त, नेपाली सेनासँग मात्रै । नेपालका राजनीतिक दललाई न दक्षिणी छिमेकी भारतले पत्याउँछ, न उत्तरी छिमेकी चीनले नै । खम्पा विद्रोहमा नेपाली सेनाले निभाएको भूमिकादेखि नै उत्तरी छिमेकी चीन नेपाली सेनालाई असाध्य विश्वास गर्छ । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले सिंहदरबारमा अमेरिकी पत्रकारलाई त्यसै सरगरमाथाबारेको प्रश्न दोहोर्याउन लगाएका होइनन् । चीनमा सी’वाद आउनुअघि नै अन्र्तराष्ट्रिय राजनीति र नेपाली गौरव बुझेको उत्तरी छिमेकीले जति विश्वास नेपाली सेनालाई गर्छ, उति साह्रो नेपालका कथित कम्युनिष्टहरुलाई समेत गर्दैन । तत्कालीन चिनियाँ प्रधानमन्त्रीले सिंहदरबारमा भएको संयुक्त पत्रकार सम्मेलनमा आफ्ना तत्कालीन समकक्षी बीपी कोइरालासँग नेपाली सेनाको उच्च प्रसंशा गर्दै ‘स्थायी सरकार भनेकै नेपालमा मैले नेपाली सेना मात्रै देख्छु’भनेका थिए । भारतले समेत नेपाली सेनालाई विश्वास गरेकै कारण होला, अहिले गोर्खा सैनिक भर्तीमा महिला समेत उल्लेख्य रुपमा मागेको । यसरी छिमेकले अत्यन्त विश्वास गरेको संस्थाले झुठ बोल्नु हुँदैन । भोलि नेपाल सरकार र राजनीतिक दलले फास्टट्र्याक जस्ता मनग्य कमिसन आउने आयोजनाको जिम्मा नदेला भनेर विल्कुल लोभ पाल्नु हुँदैन । 


र, सेनाले घुमाउरा कुरा पनि गर्नु हुँदैन । जसरी प्रधानसेनापति शर्माले संसदीय समितिमा गरे । उनले कुरा चपाउँदै सुरुमा मानवीय सहयोगका लागि कुरा आएकाले पत्राचार भएको हो, भने । तर, सन् २०१५, राजेन्द्र क्षेत्रका पालामा भएको पत्राचारको विषय नै ‘नेशनल गार्ड, स्टेट पाटर्नरशिप प्रोग्राम’ भनेर छ । 


शर्मा आफै भनिरहेका छन्, ‘चिठी लेखेको हो । तर, सैन्य गठबन्धनमा जानका लागि होइन ।’ र, उनकै भाषाले अमेरिकी सेनाबाट प्रस्ताव आएको साँचो ठहर्छ । उनले संसदीय समितिलाई भनेका छन्, ‘एसिया प्यासेफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्निलाई पनि सैन्य गठबन्धनमा नजोडिने भनी स्पष्ट भाषामा भनिएको छ ।’ यस्तो कुरा रहेछ त, सेनाका सूचना अधिकारीले सेनालाई औपचारिक, अनौपचारिक रुपमा कुनै पनि मस्यौदा वा प्रस्ताव आएको छैन भनेर  किन झुठ् बोले रु सेनाभित्रका कुरा पत्रकारलाई के थाहा भनेर, सूचना अधिकारीले जे भन्दिए पनि हुन्छ ?


एसपीपी सम्झौतामा नेपाल जाने वा नजाने कुरा आफ्नो ठाउँमा छ । तर, देशको एउटा गौरवमय इतिहास बोकेको संस्थामा बसेका मान्छेले दलवद्लु नेताको जस्तो बोली वा व्यवहार गर्न हुन्छ ? दलका नेताको कुरा कसले पत्याउँछ ? यहि एसपीपी कै विषय कति गिजोले, उनीहरुले । एउटाले फलानाका पालामा सम्झौता भएको भन्छ, अर्कोले होइन उसका पालामा कार्यान्वयनमा आएको हो, भन्छ । कसैले देशै बेच्न लागे भन्छन् त कसैले अब नेपालमा अमेरिकी सेनाले परेड खेल्छ भन्दै आफु स्वयं र मातृभूमिमाथि अविश्वास डकार्नु डकारे । के हामी यति कमजोर छौं ? के यो पराजित वा निम्छरो मानसिकता होइन ? कुनै एउटा कागजको चुर्कोका कारण मुलुकले अवलम्बन गरेको असंलग्न परराष्ट्रनीति, पञ्चशीलका सिद्धान्त, सामरिक संवेदनशीलता र राष्ट्रय सुरक्षा नीतिद्वारा निर्देशित सीमाहरु धुमिल पार्दिने ? यस्ता  विषयले कसैको सत्ता डग्ला तर, सेनाले जस्तो आम नागरिकले राष्ट्रिय स्वाभिमान डगाउनु हुँदैन ।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: शुक्रबार ३ असार २०७९ ०८:३०:५० बजे